१० असार २०८१, सोमबार

नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ


सुनिल पौडेल

काठमाडौं । विशेष अदालतले नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई दोषी ठहर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक पौडेललाई विशेष अदालतले आज दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै अदालतले शुक्रबार दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०८० साल असोजमा नेसनल पेमेन्ट गेटवेको खरिदमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव मधु मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको छ ।

पौडेलबाहेक सञ्जय शर्मा, प्रणिता उपाध्यय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर वली, रामशरण गायक, सफल श्रेष्ठ र मधुकुमार मरासिनीले सफाइ पाएका हुन् । एनआईटीसी अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !