१९ बैशाख २०८१, बुधबार

टेलिकमद्वारा उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ


टेलिकमद्वारा उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

काठमाडौँ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा शुरु गरेको छ । यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गतिको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको हो ।

सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उलपब्ध छन् । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुने टेलिकमले जनाएको छ ।

प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ ।

प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेट टप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ ।

टेलिकमका अनुसार ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था टेलिकमले गरेको छ ।

हाल काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको र व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने टेलिकमले विश्वास रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !