१५ असार २०८१, शनिबार

ट्वीटरको मालिक भएपछि एलन मस्कले हटाए सीईओसहित उच्च कर्मचारी


एलन मस्क

काठमाडौँ । अमेरिकी अर्बपति एवं विश्वकै धनी व्यक्ति एलन मस्क सामाजिक सञ्जाल ट्विटरको आधिकारिक रुपमा मालिक भएका छन् । ट्वीटरको मालिक भएपछि एलनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित उच्च कर्मचारी हटाएका छन् ।

मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन् । यद्यपि उनीहरूलाई बर्खास्त गरिएकोबारे दुबै पक्षले औपचारिक जानकारी अहिलेसम्म दिएका छैनन् ।

मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौता गरेका थिए । तर उनी सो सम्झौताबाट पछि हट्न खोजेपछि ट्वीटर कम्पनी अदालत पुगेको थियो । उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो ।

मस्कले आज शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए । समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए । उनले अहिले ट्विटरमा आफ्नो बायो परिवर्तन गरी ट्विटरको प्रमुख राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !