१२ बैशाख २०८१, बुधबार

हिजो राती एकाएक किन ‘डाउन’ भयो फेसबुक ?


काठमाडौं । हिजो सोमबार राति सवा ९ बजेपछि लोकप्रिय सामाजिक सञ्जाल फेसबुकसहित ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी डाउन भयो । फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा लगभग ६ घण्टा लामो समय अवरुद्ध भएको थियो ।

तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । ६ घण्टा लामो समय ‘डाउन’ भएपछि उक्त सेवामा अहिले चल्न थालेका छन् । डाउन डिटेक्टर डट कमका अनुसार यो अहिलेसम्मकै सबभन्दा ठूलो असफलता हो । ‘आउटेज’ लाई ट्रयाक गर्ने डाउनडिटेक्टरले विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट भएको जनाएको छ ।

यसअघि सन् २०१९ मा फेसबुकमा यही खालको समस्या आएर डाउन भएको थियो । सोमबार रातिदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो । पूर्ण तहको सेवा फर्किन केही समय लाग्न सक्ने फेसबुकका प्रमुख प्राविधिक अधिकृतले बताएका छन् ।

फेसबुक खोल्दा कम्प्युटरको स्क्रिनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिएको थियो । यसका साथै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जर एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको थिएन । यी सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको थियो ।

फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै ३९ हजारभन्दा बढीले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका थिए । नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको थियो ।

डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको थियो ।

साइबर सुरक्षा विज्ञहरूका अनुसार उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन् । यद्यपि स्वयं फेसबुकले समस्याको वास्तविक कारण भने खुलाएको छैन ।

फेसबुकको स्वामित्वमा रहेका सामाजिक सञ्जाल डाउन भएपछि फेसबुकले सामाजिक संजाल ट्वीटरमा छिट्टै समस्या समाधान हुने बताएको थियो । समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको थियो ।

 फेसबुक डाउन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !