७ बैशाख २०८१, शुक्रबार

आमसञ्चार माध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री डा. खतिवडा


Yubraj Khatiwada

काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चार माध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड-१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उहाँले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताउनुभयो ।

उहाँले कोभिड-१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताउनुभयो । ‘‘कोभिड-१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कोभिड-१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हुँदैन । रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन ।”

उहाँले सञ्चार माध्यमलाई पनि कानूनी रुपमा उद्योगका रुपमा परिभाषित गरिएकाले सञ्चार माध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याइने बताउनुभयो । कोभिड-१९ का कारण सरकारले चैत महिनामा पूरै र वैशाख महिनाको ५० प्रतिशत र बाँकी तलब पछि दिने भनेर निर्देशन दिएको भन्दै उहाँले कतिपय सञ्चार माध्यमले विज्ञापनको पैसा पाउन नसकेर समस्या आएको हुन सक्ने बताउनुभयो । “साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछौ, त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढङ्गबाट सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउनेछैन ।”

सञ्चारमन्त्री डा. खतिवडाले सञ्चार माध्यममा श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको जानकारी दिनुभयो । उहाँले चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढङ्गले वितरण गरिने समेत जानकारी दिनुभयो । छलफलमा सांसद गणेश पहाडी र जीपछिरिङ लामाले कोभिड-१९ का कारणले श्रमजीवी पत्रकार बेरोजगार हुन नहुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकारका श्रम र सिर्जनाबाट कमाएका सञ्चारमाध्यमले अहिले आएर कोभिड–१९ का कारण देखाउँदै जागिरबाट निकाल्ने गरेको बताउनुभयो । मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले आमसञ्चार माध्यमलाई जीवन्त राख्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुभाष खतिवडा, ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, नेपाल प्रेस सङ्गठनका नरेन्द्र साउँद, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारीलगायतले कोभिड-१९ का कारण देखाएर श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमले निकाल्न नहुने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !