१२ असार २०८१, बुधबार

भारतीय सञ्चार माध्यमले गरेको गलत प्रचारविरुद्ध राजनीतिक र कानुनी उपचार खोजिने : मन्त्री डा. खतिवडा


डा. युवराज खतिवडाले मन्त्रिपरिषद्

काठमाडौँ, २५ असार । सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने भएको छ । पछिल्ला दिनमा भारतीय सञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनर्गल प्रचार गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धसमेत उनीहरुले पत्रकारिताको सामान्य सिद्धान्त समेत बिर्सेर गलत प्रचार गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहनु भएका मन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “सञ्चारमाध्यम चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ ।” उहाँले दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्सर्ना गर्ने बताउनुभयो ।

सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको स्पष्ट पार्दै मन्त्री डा खतिवडाले भारतीय सञ्चारमाध्यमको गलत प्रचारको विरुद्धमा कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विशेषगरी भारतीय टेलिभिजनमा प्रसारित समाचार सामग्रीबारे उहाँले स्पष्ट शब्दमा भन्नुभयो “हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीको स्वाभिमानमा आँच पु¥याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्छौँ । यसका पछाडि कानुनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।”

पछिल्ला दिनमा भारतीय टेलिभिजनले नेपालको आन्तरिक मामिलालाई लिएर गलत प्रचारप्रसार गरिरहेका छन् । नेपाल पत्रकार महासङ्घले पनि आजै एक विज्ञप्ति मार्फत भारतीय टेलिभिजनको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएको छ ।

हद भयो बकबास बन्द गर : प्रवक्ता श्रेष्ठ

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतीय सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उहाँले भन्नुभएको छ “ हद भयो, बकवास बन्द गर ।”

प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एकढिक्का भएको बताउनुभएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभएको छ “विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरू थोकमात्र गरिरहेको बताउनुभएको छ । उहाँले यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उल्लेख गर्नुभयो ।

प्रेस सङ्गठनको गम्भीर ध्यानकर्षण

यस्तै, प्रेस सङ्गठन, नेपालले पनि एक विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यमले प्रशारण गरिरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा पत्रकारिताको न्यूनतम् मूल्यमान्यतासमेत पालना नगरी प्रसारण गरिएको भन्दै आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ “तथ्यहिन र मर्यादाहिन सामग्री जिम्मेवार पत्रकारिता मात्रै होइन, सभ्य समाजको निम्ति पनि लज्जाको विषय हो ।”

सङ्गठनले तथ्यहिन समाचारको प्रसारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध रहेको प्रेस सङ्गठन, नेपालको ठहर छ । विज्ञप्तिमा भनिएको छ “हामी भारतीय सञ्चारमाध्यमको यसप्रकारको मर्यादाहिन र अनर्गल प्रचारप्रति खेद व्यक्त गर्दै भत्र्सना गर्दछौँ ।”

सङ्गठनले दुई देशबीचको कुटनीतिक सम्बन्धमा मात्रै होइन, दुई देशका जनताबीचको सम्बन्धमा समेत दरार पैदा गर्ने त्यस्ता सामाचारको खण्डन गर्दै प्रसारण रोक्नका निम्ति कूटनीतिक कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !