७ पुस २०८१, आइतबार

मकवानपुरमा पहिरामा परी ७ घर भत्किए, लाखौँको क्षति


पाल्पाको पहिरा

बागमती । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा ७ वटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुुगुंवागंमा वुद्दिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ ।

यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले भने । त्यसैगरी बिकट क्षेत्रका रुपमारहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराले भत्काएको छ ।

गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुुमार महतोका अनुसार धेरै खेतहरू पहिराले पुरिएको र चौपायाहरू मरेका छन् । सो गाउँपालिकाको विभिन्न वडामा क्षति पुुगेको छ तर सञ्चार सुविधाले नहुँदा विस्तृत विवरण सङ्कलन र जनतालाई राहत पुर्याउन सकिएको छैन ।

कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । सो वडाको विभिन्न स्थानमा गएका पहिराले घर जोखिममा परेको हो । स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन् ।

महिला, बालबालिका र ज्येष्ट नागरिक आ आफ्ना घर छोडेर सुरक्षित स्थानमा बसेका छन् । त्यसक्षेत्रमा मोवाइल नेट र विधुत् समस्या पनि भएको बताइएको छ । हेटौंडा सदरमुकामभन्दा टाढा रहेकाले राहत र उद्धारमा समस्या रहेको जिल्ला प्रशासन कार्यालय मकवानपरले जनाएको छ । यता हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खोला नालामा आएको बाढीले त्यहाँका बासिन्दा समस्या परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !