७ पुस २०८१, आइतबार

उदयपुरको तपेश्वरी क्षेत्रमा ५०० घर बाढीका कारण डुबानमा


लगातार वर्षापछि कैलालीमा सयौँ घर डुबानमा फाइल फोटो

उदयपुर । गए रातिदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् ।

तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा बाढीपीडिको उद्धार गर्न तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । बेलका–२ तपेश्वरीका राजकुमार भुजेलका अनुसार गए रातिदेखि आएको निरन्तर बाढीको कारण स्थानीय खोलामा आएको बाढी गाउँघरमा प्रबेश गरेको कारण सडक,खेत जग्गा र गाउँघर बिस्तारै डुबान हुन थालेको हो ।

गए रातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरे खोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछी तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाका अनुसार बेलकाको आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान शुरु गरेको पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलका रामपुरका अनुसार आफूले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि आज बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताए । वर्षाका कारण बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल शुरु गरिएको इप्रका बेलकाले बताएको छ ।

त्रियुगा नगरपालिका–११ गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११ ढिम्कीका शिव कार्कीले बताए ।

बेलकास्थित तपेश्वरी क्षेत्रमा बाढीले डुबान पर्न थालेपछि अहिले सो स्थानमा कुनै पनि मानवीय घटना घट्न नदिन प्रशासनले सुरक्षाकर्मी सो स्थानमा तयारी हालतमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताए ।

बगाएर ६५ वर्षीय वृद्धको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा बेल्टार मदनचोकका गुमशेर राई रहेको प्रहरीले बताएको छ ।

बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो भने घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले खोजीका क्रममा बगाएको स्थानभन्दा २०० मिटर तल मृतावस्थामा शव फेला परेको र शवलाई अहिले परीक्षणका लागि बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !