६ बैशाख २०८१, बिहिबार

हिलाले रौतहटको बंकुल बजार अस्तव्यस्त


हिलाले रौतहटको बंकुल बजार अस्तव्यस्त

रौतहट । रौतहट जिल्लाको बौद्धीमाई नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बंकुल बजार हिलाले अस्तव्यस्त बनेको छ । सम्बन्धित पालिका र वडाध्यक्षले सडक मर्मतमा चासो नलिँदा बंकुल बजार हिलाम्य भएको हो ।

नहरबाट सरमुजवा गाउँ तथा मौलापुर जाने बजारको मूल सडकमै सवारी साधन गुड्न नसक्ने भएको छ । सडकको हिलामा चिप्लेर मोटरसाइकल चालक तथा पैदल यात्रु दिनहुँ लडेर दुर्घटनामा पर्ने गरेको स्थानीयवासी उतिम यादवले गुनासो गरे ।

‘बजारका लागि नाला निर्माण गर्न खनिएको खाल्डो त झन् ज्यानमारा बनेको छ’ उनले भने, ‘न नाला बन्छ, न सडक नै ।’ चाँडो हिलो र नालाको समस्या समाधान नभए बंकुल बजारबासी आन्दोलन गर्न बाध्य हुने यादवले चेतावनी दिए ।

नगरपालिकै मुख्य र पुरानो बजारका रुपमा ख्याति कमाएको बंकुल बजारलाई व्यवस्थापन गर्न जनप्रतिनिधि निर्वाचित भएको झन्डै चार वर्ष बितिसक्दा पनि सडक तथा नाला निर्माण गर्न जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

यसपालि नगरपालिकाबाट विनियोजित रु १६ लाखका लागतमा २६४ मिटर लम्बाइ भएको पक्की नाला निर्माण हुन लागेको स्थानीयवासी सिकेन्द्रप्रसाद यादवले बताए । ठेकेदारले कमसल सामग्री प्रयोग गरी निर्माण गरेको गुणस्तरहीन नाला साता नबित्दै भत्किएको अर्का स्थानीयवासी सुनील जयसवालले बताए । सडकमा आवतजावत गर्ने मोटरसाइकल, साइकल चालक र पैदलयात्री चिप्लेर दिनहुँ लड्ने गरेको स्थानीयवासी भागेश्वर यादवले गुनासो गरे । उहाँका अनुसार यस अवधिमा धेरैको हातखुट्टा भाँचिएको छ ।

वर्षा लागेपछि र बजेट फ्रिज हुन एक महिना बाँकी रहँदा असार महिनामा बजेट पचाउन हतारहतारमा अहिले असारे योजना सञ्चालन भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिकाका सबै वडामा निर्माण भइरहेको नाला, सडक ढलानलगायत निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !