१७ असार २०८१, सोमबार

डुब्यो संखुवासभाको तुम्लिङटार, ३ घर भत्किए


तुम्लिङटार

खाँदबारी, १३ साउन । लगातारको बर्सातका कारण संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ ।

माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् ।

पहिराले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ । ढुङ्गेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !