१७ असार २०८१, सोमबार

पहिराले लोकमार्ग क्षतविक्षत


लोकमार्ग क्षतविक्षत

बागलुङ, १३ साउन । लगातारको वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षतविक्षत बनेको छ । बागलुङ–बुर्तिवाङ सडक खण्डका कैँयन ठाउँमा खसेका पहिराले लोकमार्ग गएरातिदेखि अवरुद्ध छ । लोकमार्गमा पर्ने बडिगाड गाउँपालिका वडा नं ५, ६ र ७ का ठाउँठाउँमा पहिरा गएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो ।

“छिस, सिस्नेरी, आकशे पुललगायत थुप्रै ठाउँमा पहिरो खसेको छ, पहिरो सडक क्षतविक्षत पारेको छ”, उहाँले भन्नुभयो, “हामी बिहानैदेखि पहिरो गएको स्थलमा छौँ, अवरोध खुलाउन प्रयास भइरहेको छ, भनेको बेला डोजर पाइएको छैन ।” लोकमार्ग रोकिएपछि पश्चिम बागलुङको बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोलालगायतका ठाउँबाट सदरमुकाम आउजाउ गर्ने सवारीसाधन चल्न पाएका छ्रैनन् । सर्वसाधारणको यात्रा प्रभावित बनेको छ ।

सबै पहिरो पन्छाएर पूर्णरुपमा लोकमार्ग पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको अध्यक्ष पाइजाले बताउनुभयो । पहिराले वडा नं ७ का सन्तबहादुर केसीको घरमा समेत क्षति पुगेको उहाँको भनाइ छ । गलकोट नगरपालिका–२ नरेठाँटीमा सोमबार खसेको पहिरा पन्छाए पनि गएराति पुनः पहिरो खसेको नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले बताउनुभयो ।

ठूलो पहिरो खसेकाले लोकमार्ग सहज रुपमा खुलाउन नसकिएको उहाँको भनाइ छ । “घोडाबाँधेदेखि नरेठाँटीसम्मको खण्डमा धेरै ठाउँमा पहिरा खस्ने र सडक भासिने भएको छ”, प्रवक्ता भण्डारीले भन्नुभयो । नगरपालिका–१ को चौराहा, जम्दारेलगायतका ठाउँमा सडक भासिएको छ । लोकमार्गका इञ्जिनीयरलाई स्थलगत अवलोकन गराउँदा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने बताएको उहाँको भनाइ छ । पाल ओछ््याएर पहिरो रोकथामको उपाय गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

भारी वर्षाले जमिन गलेपछि सडक भासिएको हो । राष्ट्रिय गौरवको आयोजना नै ठाउँठाउँमा अवरुद्ध भएपछि ग्रामीण भेगको यातायात सेवासमेत प्रभावित बनेको छ । बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकालगायतका स्थानीय तहमा लामो समयदेखि ग्रामीण सडक अवरुद्ध छन् ।

बागलुङ नगरपालिका–३ बोक्सेमा पनि निरन्तर पहिरो खस्दा लोकमार्गको यात्रा कष्टपूर्ण हुने गरेको छ । तीन दिन लगाएर आइतबार उक्त ठाउँमा सडक खोलिए पनि पहिरोको जोखिम भने कायमै छ । वर्षा हुनासाथ पहिरो खस्छ ।

वर्षेनी पहिराको मारमा परेको बोक्सेमा वैकल्पिक मार्ग खोल्नका लागि नगरपालिकाले पहल अगाडि बढाएको छ । सडक मार्ग खुलको दुई दशक बित्दासमेत लोकमार्गको बागलुङ–घोडाबाँधे सडक खण्ड कालोपत्र हुनसकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दुरावस्थामा छ । पटक–पटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र गर्न सकेको छैन । चार वर्षअघि कालोपत्र भएको घोडाबाँधे–हटिया खण्ड पनि नियमित मर्मत, सुधारको अभावमा जीर्ण बनेको छ । वर्षायाममा हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गर्न सर्वसाधारण बाध्य छन् ।

करिडोर र मध्यपहाडी अवरुद्ध
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लाका जिल्लाका सबै स्थानीयवासीमा सडक सम्पर्कविच्छेद भएको छ । राष्ट्रिय गौरवका आयोजना कालीण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत दर्जन बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सदरमुकाम बागलुङ बजारदेखि पश्चिमका सात वटा स्थानीय तहलाई सडक सञ्जालमा जोडेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेको छ । एक साता पहिलेदेखि नै ठूला सवारी साधन अवरुद्ध रहेको ठाउँमा सोमबार राति पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गकै काठेखोला गाउँपालिका खण्ड, गलकोट नगरपालिका खण्ड र बडिगाड गाउँपालिका खण्डमा पहिरो खसेको ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले बताउनुभयो । पहिराका कारण सडक अवरुद्ध हुँदा दूध ढुवानी, एम्बुलेन्स, खाद्यान्नलगायतका अत्यावश्यक सेवाका सवारी बढी मर्कामा परेका छन् ।

कालीगण्डकी करिडोरको मालढुङ्गा–पालुङ्खोला खण्डमा पनि कयौं ठाउँमा पहिरो खसेको छ । वैकल्पिक मार्गसमेत नभएकाले करिडोर बन्द हुँदा जिल्लाको दक्षिणी क्षेत्रका दुई स्थानीय तहमा सडक सम्पर्क टुटेको पाठकले बताउनुभयो । ‘पानी परिरहेकाले पहिरो पन्छाउने काम पनि थालनी भएको छैन’ पाठकले भन्नुभयो “बागलुङ–पोखरा सडकबाहेक जिल्लाका सबै सडक बन्द भएका छन् ।”

अत्यावश्यक कामका यात्रु बोकेर हिँडेका सवारी सडक अवरुद्ध भएका कारण ठाउँठाउँमा रोकिएका छन् । बागलुङ नगरपालिका–१० गलुवा र वडा नं १३ को पाउजामा ठूलो पहिरो खसेका कारण तत्काल पन्छाउनसमेत कठिन रहेको उहाँले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तहका मुकाम जोड्ने स्थानीय सडकमा समेत ठाउँठाउँमा पहिरो झरेकाले यातायात अबरुद्ध बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !