१९ असार २०८१, बुधबार

पहिराको कब्जामा पल्लोटारी गाउँ


लमजुङ, ६ साउन । अविरल वर्षाले गाउँमाथिबाट आएको पहिराबाट पल्लोटारी गाउँ नै घेरिन थालेपछि गाउँ नै विस्थापित भएका छन् । आइतबारदेखि निरन्तर परेको वर्षाले आज बिहान पहिरो जाँदा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका करीब ७४ घर नै विस्थापित भएको वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो ।

गाउँमाथि करीब ५०० मिटर लम्बाइ र ४० मिटर चौडाइमा आएको पहिराले गाउँका घर चारैतिरबाट घेरेको र चार घरमा क्षति पुगेको उहाँको भनाइ छ । “सो पहिरो सीधै आएको भए गाउँ नै सखाप बनाउने थियो तर मडारिँदै आएकाले मानिस भाग्न सफल भएकाले मानवीय क्षति भने हुन पाएन”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “भिरालो जमीनमा बनेको बस्ती, माथिबाट आएको पहिरोले गाउँलाई चारैतिरबाट घेरेकाले घरको पिँढी तथा आँगन भत्किएका छन् ।”

त्यस्तै गोठ पुरिँदा नौ पशुचौपाया मरेका छन् । एउटा राँगा, पाँच बाख्रा, एकएक ब्याउने गाई, पाडा र गोरु पहिराले पुरिँदा मरेको स्थानीयवासीको भनाइ छ । यहाँका ७४ घरधुरी नै दलित समुदायका छन् । पहिराबाट विस्थापितमध्ये सोही वडामा रहेको एउटा सामुदायिक भवनमा कसैलाई त्रिपाल ओढाएर त कसैलाई कतै सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो । सो बस्तीका करीब ८०० स्थानीयवासी पहिराबाट विस्थापित भएका छन् ।

वडाध्यक्ष बस्नेतका अनुसार बस्तीमा यसभन्दा पहिला क्रमश विसं १९७७, २०११, २०१८ र २०३० मा समेत सोही स्थानमा कपासेखोला पहिरो आएको थियो । विसं १९७७ मा आएको पहिराले गाउँकी एक बालिकाबाहेक सबैको ज्यान लिएको उहाँको भनाइ छ । त्यसपछिका उक्त पहिराले विभिन्न क्षति पु¥याउँदै आएको र २०३० पछि गाउँ विस्थापित बनाएको थियो । विसं २०७२ मा आएको भूकम्पको धक्का, सोही बस्तीमाथिबाट गत आर्थिक वर्षमा लगिएको खुदी, टोपु पुरानगाउँ सडक खनिएको र बस्तीको भूभाग कमजोर भएकाले पहिरो गएको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।

जिल्लामा यसअघिका वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा डेढ सय घर विस्थापित भइसकेका छन् । बर्खायाम नसकिएकाले अझै विभिन्न स्थानमा पहिरो जाने सम्भावनाका साथ धनजनको क्षति हुन सक्ने भएकाले सतर्क तथा सुरक्षित स्थानमा जिल्लावासी बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनभुयो । उहाँले भन्नुभयो, “मानवीय क्षति हालसम्म नभए पनि भौतिक क्षति भइरहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !