१९ असार २०८१, बुधबार

तनहुँमा पहिराले १०९ परिवार विचल्लीमा


तनहुँमा पहिरो

तनहुँ, ५ साउन । अविरल वर्षापछि आएको पहिराका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् । अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेपछि ती घरमा आश्रित परिवार विचल्ली भएका छन् ।

गत असार २८ र २९ गते र पुनः आइतबार रातिदेखि हालसम्म पनि परिरहेको वर्षाले क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । जोखिममा परेकालाई स्थानीय सामुदायिक भवन र सामुदायिक विद्यालयमा स्थानान्तरण सारिएको उहाँले बताउनुभयो । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनीलगायतका क्षेत्रका मानिस बढी मात्रामा पहिराको जोखिममा परेका छन् ।

त्यसैगरी नदी तथा खोला किनार आसपासमा बस्ने घरपरिवार पनि बाढी पहिराको कारण विस्थापित बनेका छन् । वर्षायाममा खोला नदी किनारतर्फ नजान प्रशासनले सबैलाई आग्रह गरेको छ । प्रजिअ अधिकारीले बाढी पहिराले घर पूर्णरुपमा क्षति भएमा रु १० हजार राहत दिने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित शान्तिनगरका आठ घर परिवार पहिरोको उच्च जोखिममा परेसँगै घरबास छाडेर अन्यत्र सारिएको छ । नगरपालिकाको समन्वयमा उनीहरुको तत्कालको गाँस र बासको व्यवस्था वडाले गरेको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका आठ घरधुरीका ३६ जनालाई अहिले सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

त्यसैगरी तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज दिउँसो घर माथिबाट आएको पहिरोले दुई घर बगाउँदा क्षति भएको छ । महेन्द्र धौरालीको घर भत्किएसँगै घरमा रहेका आमा ८० वर्षीय तिलमाया र छोरी १७ वर्षीय दीपसा बेपत्ता भएका हुन् । बेपत्तामध्ये छोरी दीपसालाई बाहिर निकालेर उपचारका लागि अस्पताल लैजाने तयारी गरे पनि पहिरोले भानुको तुरतुरेमा सडक अवरुद्ध भएपछि लैजान समस्या भएको वडाध्यक्ष निलन संजिव श्रेष्ठले बताउनुभयो । डोजर मगाएर अवरुद्ध सडक खुलाउन पहल भइरहेको उहाँले जानकारी दिनुभयो । घट्नाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासी मिलेर खोजी बेपत्ता एक जनाको खोजी कार्य भइरहेको नायब निरीक्षक कविन्द्र गुरुङले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !