६ बैशाख २०८१, बिहिबार

तनहुँको पाँच सय हेक्टर वनमा डढेलो


मनाङमा लागेको आगो अझै नियन्त्रण बाहिर फाइल फोटो

दमौली । हिउँद शुरु भएपछि तनहुँको करीब पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका सामुदायिक वनमा छिटफुटरुपमा डढेलोका घटना बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले यकिन तथ्याङ्क नआइसके पनि करीब पाँच÷छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको जानकारी दिनुभयो । “अन्य जिल्लाको तुलनामा तनहुँमा विकराल समस्या त छैन, यद्यपि छिटफुटरुपमा डढेलोका घटना भएका छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ तर यसपटक भने डढेलोको ठूलो समस्या देखिएको छैन । सर्वसाधारण सचेत भएका कारण पनि डढेलो लाग्न कमी आएको हुनसक्ने उहाँको बुझाइ छ ।

“डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।”

जिल्लामा रहेका आठ सव–डिभिजन वन कार्यालयले आआफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका १० स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र छ धार्मिक वन छन् ।

वैशाख ७ र ८ गते दोस्रो मात्राको खोप

यही वैशाख ७ र ८ गते कोभिडविरुद्धको दोस्रो मात्राको खोप अभियान सञ्चालन हुने भएको छ । कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएकालाई स्वास्थ्य कार्यालय तनहुँले दोस्रो मात्राको खोप लगाउने तयारी गरेको हो ।

पहिलो मात्राको खोप अभियान गत माघ १४ देखि २४ गते र फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको थियो । त्यसक्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, वृद्धवृद्धा, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सरकारी सेवाका कर्मचारी, सुरक्षाकर्मी, न्याय सेवाका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण तथा संस्थानका कार्यरत कर्मचारी र पत्रकारलाई खोप लगाइएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले दोस्रो मात्राको खोप लगाउनका लागि यसअघि प्रदान गरिएको खोपकार्ड अनिवार्य रुपमा लिएर आउनुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालयले दोस्रो मात्राको खोप अभियान सञ्चालनका लागि स्वास्थ्य संस्थासमेत निर्धारण गरेको छ । त्यसअनुसार व्यास नगरपालिकास्थित दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदीबन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, भानु नगरपालिकास्थित पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्यचौकी, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्यचौकी, भीमाद नगरपालिकास्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन गरिनेछ ।

घिरिङ गाउँपालिकास्थित घिरिङ स्वास्थ्यचौकी र साभुङ स्वास्थ्यचौकी, ऋषिङ गाउँपालिकास्थित भिरकोट स्वास्थ्यचौकी र कोटदरबार स्वास्थ्यचौकी, देवघाट गाउँपालिकास्थित धर्मास्थल अस्पताल, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी स्वास्थ्यचौकी, कृष्णमन्दिर वृद्धाश्रम र म्याग्दे गाउँपालिकास्थित थर्पु स्वास्थ्यचौकी र जामुने स्वास्थ्यचौकीमा खोप अभियान सञ्चालन गरिनेछ ।

क्यान्सरपीडितको उपचारका लागि रु पाँच लाख

क्यान्सरपीडित व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा रु पाँच लाख भन्दा बढी सहयोग जुटेको छ । वडा नं २ घर भई हाल अमेरिकामा रहनुभएका किरण श्रेष्ठको सक्रियतामा रु पाँच लाख ३३ हजार ८२१ सहयोग सङ्कलन गरिएको हो ।

उक्त रकम पीडित दरैका नाममा माछापुच्छ«े बैंकमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अष्ट्रेलिया, बेलायत र जापानका रहेकाहरुबाट उक्त रकम सङ्कलन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम सङ्कलन अभियान जारी रहेकाले पाँच सय अमेरिकी डलर जम्मा गर्न बाँकी छ ।

केही दिनअघि मात्रै व्यास साङ्गीतिक समूहले पनि क्यान्सरपीडित दरैको उपचारका लागि रु दुई लाख २८ हजार १५५ सहयोग गरेको थियो । केही वर्षदेखि दरै क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । फोटोग्राफीमा रुचि राख्ने उहाँ देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिंच्ने गर्नुहुन्थ्यो । पीडितका बुबा हस्तबहादुरले छोराको जीवन बचाइदिन अनुरोध गर्दै सहयोगको याचना गर्दै आउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !