१४ वैशाख, वीरगन्ज । वीरगन्जमा लगातार ३ पटक गरिएको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएकी १ जना युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-१० अशोक वाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो ।
ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । १ महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए । तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगिएको थियो ।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आएको थियो ।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि हिजो शनिबार राती नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको र्यापिड टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको छ ।
युवतीको शव अहिले नारायणी अस्पतालमै छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको छ । ३ पटक लगातार र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएपछि केश शंकास्पद देखिएको भएपनि यकीन गर्न स्वाब हेटौँडा पठाइएको हो । यो समाचार अन्नपूर्ण पोष्ट डट कममा क्रान्ति शाहले लेखेका छन् ।