काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता नविन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पताल स्रोतले दिएको जानकारी अनुसार आज राती ८:२४ बजे उनको निधन भएको हो ।
गत फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगेर अति सघन कक्षमा १ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो । मस्तिष्कघातपछि अस्पताल पुर्याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।
अस्पतालले जारी प्रेस विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको बताएको छ । जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
५७ वर्षको उमेरमा निधन भएका जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य, पूर्वसांसद र पूर्वमन्त्री समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।
यस्तो छ नर्भिक अस्पतालले निकालेको प्रेस विज्ञप्ति