महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका संजय उपनामले चिनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिवास नगरपालिका-१ बस्ने ४० वर्षीय न्यौपानेको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
६ वर्षीया बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाएपछि तीघ्रामा गोली लागेका न्यौपाने सख्त घाइते भएका थिए ।
उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उपचारका क्रममा राति १ बजे उनको मृत्यु भएको हो ।
अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको हो । गोली लागेर घाइते भएका अर्का श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ । प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ ।
आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी गुलाबको शव सोमबार मध्यरातमा उनको घर नजिकैको झाडीमा बोरोमा राखेर फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।
घटनालाई लिएर मंगलबार दिनभर बर्दिबासमा स्थानीयले प्रदर्शन गर्नुका साथै राजमार्गमा शव प्रदर्शन गर्ने क्रममा बर्दिबासस्थित भोला बसन्त चोकमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले ढुङ्गामुढा र आगजनी गरेपछि प्रहरीले भीड तितरवितर गर्न हवाईफाएर गरिएको प्रशासनले जनाएको छ ।
बालिकाको हत्या आरोपमा गौशाला-५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ गरिएको छ भने अरोपी उनले बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन् । आक्रोसित स्थानीय सामाजिक बहिष्कारको नारा लगाउँदै आरोपीको तीन तल्ले घरमा समेत आगो लगाएका थिए । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय घरमा लगाएको आगो निभाउन आएको दुई दमकलमा समेत तोडफोड गरे।
प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको थियो । सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको थियो ।