१३ असार २०८१, बिहिबार

प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन


भूमिश्वर सापकोटा

काठमाडौँ । प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ । अहिले बिहान नारायणीमा उहाँको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

विसं १९७१ माघ १ गते बागलुङमा जन्मिनुभएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहनुभएको थियो । विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उहाँको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गर्नुभएका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लाग्नुभयो ।

विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उहाँको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल पर्नुभयो । सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याउनुभएको छ ।

उहाँले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ । उहाँले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गर्नुभएको छ ।

उहाँ विसं २०२९ मा गैडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुरयाउनुभएको थियो । उहाँकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो ।

गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उहाँले योगदान पु¥याउनुभएको थियो । बिपीको सहयात्रीको रुपमा चिनिनुहुने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उहाँलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो ।

उहाँ विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२÷२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लड्नुभएको थियो । उहाँका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य हुनुहुन्छ । तिलकसहित उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !