१२ असार २०८१, बुधबार

बीपी प्रतिष्ठानमा उपचाररत ५ जनाको कोरोना संक्रमितको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, असोज २९ । सुनसरीको धरानमा ५ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विभिन्न जिल्लाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त प्रष्ठिानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका १ जना महिला र १ जना पुरुष, इटहरी उपमहानगरपालिकाका १ जना महिला र तेह्रथुमका २ जना पुरुषको मृत्यु भएको हो ।

उनका अनुसार धरान उपमहानगरपालिका-९ का २ जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड-१९ अस्पतालमा हिजो बुधबार राति ११ः५५ बजेतिर मृत्यु भएको हो । असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका बिरामीमा कुनै दीर्घ रोग भए नभएको जानकारी हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै धरान-९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ः१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएलगत्तै असोज २८ गते महिलालाई कोभिड अस्पतालमा भर्ना गरी उपचारमा राखिएको थियो ।

त्यस्तै इटहरी उपमहानगरपालिका-२० की ७५ वर्षीया वृद्धा महिलाको बिहीबार बिहान १२ः०५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठानमा भर्ना गरी उपचार थालिएको थियो । ती वृद्धाको उपचारकै क्रममा आकस्मिक कक्षमै मृत्यु भएको बताइएको छ ।

यसैगरी तेह्रथुम दांग्पा-१ का ४९ वर्षीय पुरुषको समेत प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार बेलुका ७ बजे उपचारका क्रममा मृत्यु भएको छ । उनी असोज २५ प्रतिष्ठानको इमरजेन्सीमा भर्ना भएका थिए । असोज २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो ।

साथै तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ः १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषमा विराटनगरस्थित कोशी अस्पतालको ल्याबबाट कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई असोज ११ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो ।

योसंगै प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित मृत्यु हुनेको संख्या ५८ पुगेको छ । सह-प्रवक्ता डा. श्रेष्ठका अनुसार मृतक सबैको शवको व्यवस्थापन नियमानुसार हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !