६ जेष्ठ २०८१, आइतबार

बीपी प्रतिष्ठान उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

विराटनगर, असोज २५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले मृत्यु भएकामध्ये २ जना सुनसरी र १ जना धनकुटाको रहेको जानकारी दिएका छन् । मृत्यु हुनेमा २ जना महिला र १ जना पुरुष रहेका छन् ।

सुनसरीको धरान-८ की ६२ वर्षीया वृद्धा महिलाको शनिबार राति ८ बजे मृत्यु भएको हो । उपचारका लागि प्रतिष्ठानमै भर्ना भएकी महिलामा असोज २१ गते कोरोना पुष्टि भएको थियो । त्यस्तै सनुसरीको दुहवीका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आइतबार बिहान ३ः५० बजे मृत्यु भएको हो । प्रतिष्ठानमा उपचाररत अवस्थामा असोज १५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

साथै धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको हो । मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई थप उपचारका लागि जिल्ला अस्पताल धनकुटाले असोज १६ गते रेफर गरेर प्रतिष्ठान पठाएको हो । पीसीआर परीक्षण गर्दा असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक तीनै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !