१२ असार २०८१, बुधबार

विराटनगरको नोबेल अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


नोबेल शिक्षण अस्पताल

विराटनगर, असोज २० । मोरङ जिल्लाको विराटनगरमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत मोरङ जिल्लाका २ जना कोरोना संक्रमित पुरुषको आज मंगलबार बिहान मृत्यु भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युु भएको जानकारी दाहालले दिए । उनमा ६ दिनअघि कोरोना पुष्टि भएको थियो । उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनको भनाइ छ । कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसनमा आईसीयूमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको जानकारी दाहालले दिए ।

त्यस्तै कानेपोखरी गाउँपालिका-६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको हो । मृतक पुरुषमा ब्लड क्यान्सरको पुरानो समस्या थियो । सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको समस्या पनि थपिएको थियो ।

स्वाब संकलन गरेर नोबेलकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । ५ वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका पुरुषलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर थप उपचार थालिएपनि बचाउन नसकिएको उनको भनाइ छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !