२९ कार्तिक २०८१, बिहीबार

नेपालमा कोरोना संक्रमणवाट पहिलो पटक डाक्टरको मृत्यु


डा. हरिप्रसाद सापकोटा

काठमाडौं, १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट पहिलो पटक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका-३ घर भएका ५९ वर्षीय डा. हरिप्रसाद सापकोटाको कोरोना संक्रमणवाट आज बिहीबार मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो । प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनी कर्णाली प्रदेश अस्पतालका वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ समेत रहेको खड्काले बताएका छन् ।

उनी डायबेटिजको निम्ति इन्सुलिन र उच्च रक्तचापको निम्ति नियमित औषधि लिइ रहेका भएतापनि अस्पतालमा भर्ना हुँदा उनको सुगर नियन्त्रणमा थिएन । उनलाई सुरुमा अक्सिजन, ब्लड सुगर नियन्त्रणको निम्ति बिभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिकमा राखिएको थियो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामी समेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. खड्का सहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत अवस्थामा भेटिएकी ३५ वर्षीया एक महिलामा बुधबार कोरोना पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमणवाट पहिलो पटक डाक्टरको मृत्यु

तस्वीर स्रोत : भेरी अस्पतालको फेसबुक पेजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !