काठमाडौँ, भदौ ३१ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६५२ जना, ललितपुर जिल्लाका ६० जना र भक्तपुर जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०४९४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ७२ हजार २७४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६२४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८५४१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७७०१ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७८२० जना रहेका छन् ।
नेपालमा आज कोरोना संक्रमण नयाँ १५३९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८३२७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४१७०६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्