७ आश्विन २०८१, सोमबार

विराटनगरमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

विराटनगर, ८ भदौ । मोरङ जिल्लाको विराटनगरमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका-८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । उपचार केन्द्र स्रोतका अनुसार उपचारका लागि अस्पताल ल्याइ पुर्याएको १ घण्टामै ती पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वासमा एक्कासि समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो ।

मृतक पुरुष अवकाश प्राप्त शिक्षक हुन् । परिवारकै १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका उनको स्वाब संकलन गरेर भदौ ४ गते परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो । रिपोर्ट आइतबार दिउँसो ३ बजे पोजेटिभ आएको थियो ।

दिउँसो रिपोर्ट पोजेटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या थपिएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ । मृतकका परिवारमा २ वर्षीया नाबालिका सहित अरु ३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो ।

स्वास्थ्य अवस्था सामान्य रहेका ३ नै जना अहिले ‘होम आइसोलेसन’मा छन् । पुरुषको पछिल्लो मृत्युुसँगै विराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा २ जना संक्रमितको ज्यान गइसकेको छ । महानगरमा हालसम्ममा संक्रमितको संख्या ८१३ पुगेको छ । जसमा १६७ जना निको भएर घर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !