चितवन, ३ भदौ । पूर्वी चितवनको खैरहनी नगरपालिका-३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनको मंगलवार मात्रै पिसिआर परीक्षण नतिजा आएको हो । नतिजामा कोरोना संक्रमण देखिएको छ ।
साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा सङ्क्रमित देखिएपछि उनको स्वाब सङ्कलन गरिएको थियो । उनीसँगै ती सङ्क्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।