७ जेष्ठ २०८१, सोमबार

विराटनगरमा सिरहाका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु


मृत्यु

विराटनगर, साउन ३० । मोरङ जिल्लाको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको बिहीबार राति करीव ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गम्भीर अवस्थामा भएका उनलाई उपचारका लागि मंगलबार कोशी अस्पतालमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो ।कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरिएको भएपनि रिपोर्ट भने बिहीबार साँझ ७ बजेमात्रै आएको थियो ।

कोरोना रिपोर्ट पोजिटिभ आएको १ घण्टापछि नै उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । अस्पताल स्रोतका अनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । साथै उनको शरीरमा रगतको पनि कमी देखिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो । तर धरानले संक्रमितले भरिएका कारण बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको थियो ।

सिरहाका पुरुषको ज्यान गएसँगै कोरोनाका कारण कोशी अस्पतालको आइसोलेसनमा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । योसंगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !