१८ असार २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


मृत्यु

काठमाडौं, साउन २४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना पुष्टि भएकी टोखा-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती महिलालाई साउन १८ गते कोभिड-१९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको साउन २३ गते शुक्रवार मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका-९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते शुक्रवार उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !