१२ असार २०८१, बुधबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन १४ । पर्सा जिल्लाको वीरगञ्जमा छुट्टाछुट्टै अस्पतालमा आज एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा उपचाररत १ जना र नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारत १ जनाको बुधबार मृत्यु भएको हो । दुबै जना वीरगन्जका स्थानीय नै हुन् ।

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत वीरगन्जका ६८ वर्षीय वृद्धको कोरोना संक्रमितको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वास-प्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो । कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको डा. सिंहले बताए । मृतक उनी पुराना मुटुरोगी पनि थिए ।

साथै मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए । उनका अनुसार वीरगन्ज महानगरपालिका-६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए । उनको छातीमा पानी समेत जमेको थियो ।

बुधबार एकैदिन वीरगञ्जमा कोरोनाबाट २ जनाकाे मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ५१ पुगेकाे छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !