२ मंसिर २०८१, आइतबार

विराटनगरको कोशी अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमित वृद्धको मृत्यु


मृत्यु-निधन

विराटनगर, साउन १९ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । आज सोमबार बिहान मात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा ३ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

डा. दासका अनुसार उनलाई आज बिहान साढे ९ बजे अस्पताल भर्ना गरिएको थियो । भर्ना गर्दै उनमा ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेको थियो । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण भएपछि उनको स्वाब परीक्षणको लागि झिकिएको थियो तर उनको सवा ३ बजे नै मृत्यु भएको थियो । पछि सवा ४ बजे पिसिआर रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ देखिएको डा. दासले जानकारी दिएका छन् ।

मृतक बृद्धको अहिलेसम्म कुनै ट्राभल हिस्ट्री देखिएको छैन । मधुमेहको समस्याव समेत रहेका वृद्धलाई ४ दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । मृतक मधुमेह र रक्तचापको रोगी समेत रहेको अस्पतालले जनाएको छ ।

अहिले मृतकको शव अस्पतालमै राखिएको र व्यवस्थापनको लागि सेनाको टोलीलाई खबर गरिएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !