३० कार्तिक २०८१, शुक्रबार

धरानमा महोत्तरीका कोरोना संक्रमित १ जना बृद्धको मृत्यु


मृत्यु

७ साउन, धरान । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरीको महोत्तरी गाउँपालिका-३ का ६० वर्षीय बृद्धको कोरोनाका कारण गएराति ७ बजे मृत्यु भएको हो ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको हिजो मंगलबार राति निधन भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा संजीवकुमार शर्माले जानकारी दिएका छन् । प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले जानकारी दिएका छन् । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।

गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको ३ दिनपछि मृत्यु भएको हो । मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २६७ जनालो कोरोना जितेर डिस्चार्ज भईसकेको जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी थिए। उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए । मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए। योसंगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !