९ आश्विन २०८१, बुधबार

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो


१९ भदौं, काठमाडौं । सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ । छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो । आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए । त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन् । दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो । दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेका थिए ।

तर घटनाको एक साता पुग्नै लाग्दा जिल्ला समन्वय समिति दैलेखले उपमहानगरसँग गाई मगाएको नक्कली पत्र तयार पारेपछि घटना थप रहस्यमय बनेको हो । नेपालगन्ज उपमहानगरले गठन गरेको छानबिन टोली मंगलबार दैलेख पुगेको थियो । टोली फिर्ता भएसँगै जिससले उपमहानगरसँग गाई मगाएको पत्र सार्वजनिक भएको हो। जिससको नाममा रातारात पत्र बनाएर गाई मगाइएको देखाएपछि दैलेखका स्थानीय तह पनि आश्चर्यमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !