काठमाडौँ । चिनियाँ एटीएम ह्याकर फेरि सलबलाउन थालेका छन् । दरबारमार्गस्थित मेगा बैंकको एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिक प्रहरीद्वारा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो । उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीले उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।