काठमाडौँ । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।
उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ ।
उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।
उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिय पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।