७ मंसिर २०८१, शुक्रबार

शिखर कटेरीको जङ्गलमा आगलागी


udayapur fire

दमौली, २४ चैत । तनहुँको भानु नगरपालिका–४ स्थित शिखर कटेरीको जङ्गलमा आगो समयमै निभाउन सफल भएपछि रामायण भवन क्षति हुनबाट जोगिएको छ । अज्ञात समूहले आइतबार राति भानुभक्त सामुदायिक वनमा लगाएको आगो स्थानीयवासीले समयमै निभाउँदा रामायण भवन क्षति हुनबाट जोगिएको हो ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा हालै मात्र निर्माण सम्पन्न भएको रामायण भवन वरपरको जङ्गलमा लागेको आगो राति नै करीब २० जनाको सङ्ख्यामा पुगेका स्थानीयवासीले निभाएको वडा नं ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिनुभयो ।

“रामायण भवन छेउमै आइपुगेका बेला स्थानीयवासीले स्थानीय सीप र जुक्ति प्रयोग गरी आगो निभाउन सफल हुनुभयो”, उहाँले भन्नुभयो, “जसकारण क्षति हुनबाट जोगियो ।” उक्त जङ्गलमा कसले आगो लगायो भन्ने खुल्न सकेको छैन । भाटका अनुसार रामायण भवनको मुख्य प्रवेशद्वारको ताल्चा फोरिएको छ ।

“सामुदायिक वनका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष लगायतको टोली आज रामायण भवनमा पुगेको थियो, फोरिएको ताला हटाएर नयाँ ताला लगाइएको छ”, उहाँले भन्नुभयो, “कसले यस्तो बदमासी ग¥यो अनुसन्धान गर्दैछाँै ।” अध्यक्ष भाटका अनुसार रामायण भवन हालै मात्र निर्माणसम्पन्न भए पनि संरक्षण हुन सकेको छैन । बस्तीभन्दा केही माथि जङ्गलमा भवन रहेकाले संरक्षणमा सबैको ध्यान पुग्न नसकेको उहाँको भनाइ छ ।

स्थानीयवासी सन्देश आचार्यले आगलागी भएको थाहा पाउने बित्तिकै आगो निभाउन आफूहरु पुगिहालेको जानकारी दिनुभयो । शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माणसम्पन्न गरिएको छ । पर्यटन विभागको लगानीमा उक्त भवन निर्माण गरिएको छ । करीब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, शौचालय, पोखरीलगायत भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शङ्र रानाभाटले जानकारी दिनुभयो । उक्त गुरुयोजनाका लागि अनुमानित लागत रु १६ करोड रहेको छ ।

भानुभक्त आचार्यको जन्मघर भने हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर पुनर्निर्माण गरिएको थियो । जङ्गलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो । विसं २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्वमुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो । भानु गृह करीब रु ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि निर्माण कार्य शुरु हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !