१३ आश्विन २०८१, आइतबार

सुकुटे बस दुर्घटनाकी घाइतेको बयान, ‘दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’


१८ कात्तिक, काठमाडौं । ‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो ।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ । मेरो बच्चा २ महिनाको मात्रै थियो ।’ –घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ । ‘शरीर चुर्लुम्म डुबेछ । झस्याङ भएँ । दूध चुसिरहेको छोरो काखमा छैन । म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन्– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ ।

काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो ।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ । धेरैबेर खोजें । अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन । अनि मलाई अस्पताल ल्याइयो ।’ –सरिताले भनिन् । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !