७ आश्विन २०८१, सोमबार

सर्पको डसाइबाट मृत्यु


कावासोती, ३ साउन । नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो । सर्पले डसेको थाहा नपाउँदा विषको असर शरीरमा देखिएपछि मात्र थापालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकामा चिकित्सिकले मृत घोषणा गरेका थिए । थापालाई बिहान साढे ५ बजेको समयमा घरमा सर्पले डसेको हुनसक्ने परिवारले जनाएको छ । त्यसको एक घण्टापछि विषको असर देखिएपछि मात्र सर्पले डसेको आशङ्का गरी अस्पताल ल्याइएको थियो ।

गर्मी मौसम र अहिले पानी परेका कारण जमीनमुनि लुकेर बसेका सर्पहरु बाहिर आउने हुँदा विशेष सावधानी अपनाउनुपर्ने कालीगण्डकी अस्पतालका सर्पदंश चिकित्सिक डा छविलाल थापाले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !