६ जेष्ठ २०८१, आइतबार

सुमो दुर्घटनामा मृत्यु हुने तीनको पहिचान


मृत्यु

टिस्टुङ, १८ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटाँैंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा झापा, जोरपानी गाउँपालिका बस्ने २५ वर्षीया देवीकुमारी गिरी, मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २५ वर्षीय भीमबहादुर थिङ र मकवानपुरकै राजन राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गिरीको हेटौंँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइते हेटौंँडा ३ बसामाडी बस्ने ३० वर्षीया शर्मिला थिङ, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङ, रौतहट, रङ्गपुर गाउँपालिका बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले, सुमो चालक भीमफेदी–४ घर भई हाल सामरी बस्ने विष्णु मगर र नाम, ठेगाना नखुलेको अन्दाजी पाँच वर्षीय बालक छन् ।

घाइते थिङ, गुरुङ र काफ्लेलाई भने थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै सुमो चालक मगरको हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । पहिचान नखुलेका बालकलाई भने सामान्य उपचारपछि हेटौंँडास्थित एक शिशुस्याहार केन्द्रमा संरक्षणका लागि जिम्मा लगाइएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँका लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !