७ मंसिर २०८१, शुक्रबार

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाईते


दुर्घटना

लहान, १८ भदौ । सिरहा-चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका-११ भलुवाहीस्थित सडकमा गएराति २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् ।

सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स ४ प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

सोही दुर्घटनामा परी सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ बर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाईते भएको र उनको भुमिजा अस्पताल लहानमा उपचार भई रहेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !