२१ कार्तिक २०८१, बुधबार

एक वर्षमा १३३ सडक दुर्घटना


मृत्यु

११ वैशाख, हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ ।

यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना भएको बताइएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ । मकवानपुरमा गत एक वर्षको अवधिमा साना ठूला गरी १३३ सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी चालकमा धैर्यको कमी भएका कारण सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको बताएको छ । चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रत्येक महीना सवारी चालकको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गर्नुका साथै सवारीसम्बन्धी जनचेतनाका कार्यक्रम पनि गरिरहेको जनाएको छ तर पनि सवारी दुर्घटनाको न्यूनीकरणमा सन्तोषनक सफलता पाउन कठिनाइ रहेको छ ।

मकवानपुरका पक्की सडकमा ७६ र कच्ची सडकमा १५ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रदेश नं ३ को राजधानीसमेत भएकाले यहाँको सवारी चाप पछिल्लो समय बढ्दो रुपमा रहेको छ । दशकौँ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्गलगायत केन्द्रीय राजधानी काठमाडौँलाई जोड्ने छोटो दूरीका सडक सञ्जालले हेटौँडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौँ सवारी आवतजावत गर्ने गरेका छन् । यस्ता सवारी चापको चुनौतीलाई करीब ३० जनाको ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

मकवानपुरमा करीब २७ हजार सवारी साधन दैनिक गुड्ने अनुमान गरिएको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा रहेको जनशक्तिलाई आधार मान्ने हो भने एउटा ट्राफिक प्रहरीले करीब ९०० सवारी साधनलाई निगरानी गर्नुपर्ने भएको छ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको आँखा छलेर सवारी नियम मिच्ने सवारीलाई कारवाही गर्न जनशक्ति नै अपुग रहेको सहजै अनुमान गर्न सकिन्छ ।

मकवानपुर प्रदेश नं ३ को राजधानी भएका कारण दैनिकजसो विशिष्ट, अति विशिष्ट व्यक्तिको बाक्लो उपस्थिति हुने भएकाले अन्य सवारीको अतिरिक्त उनीहरुका लागि सवारी व्यवस्थापन गर्नुपर्ने चुनौती पनि ट्राफिक प्रहरीलाई नै रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !