३ आश्विन २०८१, बिहीबार

चोरीको रकमसहित पक्राउ


पक्राउ

५ वैशाख, डोटी । भारतबाट चोरी गरी ल्याएको रकमसहित डोटीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी गरेको रकमसहित पक्राउपर्नेमा केआइसिंह गाउँपालिका–२ बस्ने केशब भुल रहेका छन् । पक्राउ परेका भुलबाट प्रहरीले रु चार लाख ३१ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनाका आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भइरहेको छ ।” उता सो गाउँपालिकाका स्थानीयवासी तथा राष्ट्रिय जनमोर्चाका नेता मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले रु चार लाख ६० हजार बरामद गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको टोली आएर भुलको भरमा खान तलासी गरेर रु चार लाख ६० हजार लगेको हो, अहिले रु चार लाख ३१ हजारमात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ? ।” प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेको हो ।

कर्णालीमा बालक बेपत्ता

बडीकेदार गाउँपालिकाका एक बालक कर्णाली नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धामीका अनुसार बडीकेदार गाउँपालिका वडा नं ३ ओखलढुङ्गाका १३ वर्षीय हर्कबहादुर थापामगर डोटी र सुर्खेतको सीमाक्षेत्रमा पर्ने कर्णाली नदीमा बगेर बेपत्ता भएका हुन् । उनी बुधबार बेलुका मामाघरमा भेटघाटका लागि जानेक्रममा कर्णाली नदीमा बगेर बेपत्ता भएको र उनको खोजी कार्यका लागि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

स्थानीय मेलघाडी आधारभूत विद्यालयमा अध्ययरत बालक बिदाको समयमा भेटघाटका लागि अन्य तीन जना साथीसँगै मामाघरमा जाने क्रममा बगेर बेपत्ता भएको हर्कबहादुरका दाजु प्रकाश थापामगरले बताउनुभयो । अन्य बालक फर्केर घर आएपछि मात्रै हर्कबहादुर बगेर बेपत्ता भएको खबर खेलेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !