२८ चैत, तम्घास । गुल्मीको मुसिकोट नगरपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारी र एक बालकको मृत्यु भएकोछ भने अन्य आठ घाइते भएका छन् ।
धुर्कोट गाउँपालिका–५ निवासी भण्डारी नेपाली काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट २०४८ मा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । ६५ वर्षीय भण्डारी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुनुहुन्थ्यो । त्यसैगरी मालिका गाउँपालिका–१ का आठ वर्षीय वस्कर विश्वकर्माको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
मालिका गाउँपालिकाअन्तर्गत दर्लिङबाट बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नंको उक्त जिप बिहान ९ बजे मुसिकोट नगरपालिका–१ अन्तर्गत चैनडाँडा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चारको वामीटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अन्य चार जनालाई गुल्मी अस्पताल तम्घास ल्याइँदै गरिएको छ ।
पूर्वसांसद भण्डारी बुधबार मालिका गाउँपालिकाअन्तर्गत घमिरमा दलित सङ्घका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जलि कार्यक्रममा जानुभएको थियो । जिप घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सडकवाट २०० मिटर तल खसेको स्थानीयवासी मोहन घिमिरेले जानकारी दिनुभयो । दुर्घटनामा जिप चालकसमेत गम्भीर घाइते भएको बताइएको छ । (रासस)