१३ आश्विन २०८१, आइतबार

चौरासी प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीबाट


durghatana

१८ माघ, भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ ।

आज भक्तपुर ट्रक व्यवसायी सङ्घको १९औं वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ठूला चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको लापरवाहीका कारण दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सवारीको तीव्रगति कम गरेर निर्धारित गतिमा सवारीसाधन चलाउने र सडक लेन तथा सवारी नियम मात्रै पालना गर्ने हो भने ५० प्रतिशत दुर्घटना कम हुन्छ ।” ट्राफिक नियम पालना नगर्ने चालक पर्फेक्ट चालक होइनन् भन्दै उहाँले चालकको लापरवाहीकै कारण कहालीलाग्दो अवस्थाको दुर्घटना हुने गरेको बताउनुभयो ।

महाशाखा प्रमुख पन्तले विश्वमा आधुनिक प्रविधिको व्यवस्था भए पनि नेपालमा हातकै भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै उहाँले दैनिक १२ लाख सवारीसाधन गुड्ने यहाँका सडकमा सडकको वैकल्पिक व्यवस्था नभएसम्म ट्राफिक जामलाई घटाउन मुस्किल हुने भनाइ राख्नुभयो ।

हनुमन्ते तथा मनोहरा करिडोर निर्माण, पेप्सिकोला क्षेत्रको सडक खुलाउने र पुलमुनिबाट सवारी लैजाने व्यवस्था भए ३५ प्रतिशत जाम कम गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सडक दुर्घटना निकै भयावह रूपमा बढेको बताउँदै यसलाई नियन्त्रण गर्नु सबैको दायित्व भएको आँैल्याउनुभयो । चालकले सवारी नियम मात्रै पालना गरे पनि दुर्घटना कम हुने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले दुर्घटना न्यूनीकरण गर्न चालक सहचालकलाई ट्राफिक नियमसम्बन्धी चेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउँदै समुदायको सहयोगविना दुर्घटना न्यूनीकरण चुनौती नै बन्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सडकमा ट्रक देखेपछि साना सवारीसाधन र पैदलयात्री भाग्नुपर्ने अवस्था आउनु बिडम्वना भएको बताउनुभयो । भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमली, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्योम्बा, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापति, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँरलगायतले दिउँसोको समयमा ट्रक चलाउन नदिएर उद्योग धरासायी बनाएको आरोप लगाउनुभयो ।

नयाँ कार्यसमिति चयन

त्यसैगरी सङ्घको सातौँ साधारणसभाले लक्ष्मीप्रसाद गोराको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा गणेश त्यात, सचिवमा नातीभाइ ह्योम्बा, सहसचिवमा नरेश गोठे, कोषाध्यक्षमा आशाराम वैद्य, सहकोषाध्यक्षमा जितेन्द्र खायमली, सदस्यमा कमलनारायण धुख्वा, कृष्णप्रसाद प्रजापति, चन्द्रकृष्ण ग्वाछा, पूर्णप्रसाद गायजु र सानुकाजी चिकंबन्जार चयन हुनुभएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !