१२ असार २०८१, बुधबार

तीन लाखको अवैध सामान बरामद


Nepalpatra

१२ माघ, लहान । प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले सिरहाको लक्ष्मीपुर पत्तारी, महेशवारी तथा खिरौना लगायतका स्थानबाट ती सामान बरामद गरेका हुन् ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीबाट खटिएको टोलीले सल ७७ थान, कुर्ता १०२ थान र लसुन १८ किलोसहित करीब रु ६० हजार भन्दा बढी मूल्य बराबरको अवैध समान बरामद गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय महेशबारीले खाने तेल, बिस्कुट, रजनीगान्धा, तुलसी लगायतका करीब रु एक लाख ३५ हजार भन्दा बढी मूल्य बराबरको किराना समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय खिरौनाले करीब रु २५ हजार मूल्य बराबरको ट्याक्टरको पार्टपूर्जा बरामद गरेको जनाएको छ । बरामद भएका सामान जिल्ला भन्सार कार्यालय माड्र सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

अवैध मदिरा नष्ट
प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकामा आज १०० लिटर अवैध घरेलु मदिरा नष्ट पारेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले १०० लिटर तयारी घरेलु मदिरा तथा २०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्च पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको छ ।

जिल्लामा शुरु गरिएको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत उक्त परिणाममा घरेलु मदिरा नष्ट पार्नुको साथै उत्पादन गर्न प्रयोग हुने भाँडाकुडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !