५ जेष्ठ २०८१, शनिबार

आगलागीमा रु डेढ करोड क्षति


आगलागी

१० माघ, तेह्रथुम । लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा आज आगलागी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटाको गारो र जस्ताको छानो भएको दुईतले घर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा छेउका दुई घरमा समेत क्षति भएको छ । छिमेकी रेनुका गुरुङ र फूलमाया गुरुङको घरमा समेत क्षति पुगेको हो ।

आगो निभाउने क्रममा स्थानीयवासी ५० वर्षीय गोपाल गुरुङ घाइते हुनुभएको छ । उहाँको स्थानीय वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताउनुभयो ।

साँझ करीब पौने ५ बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो । पेट्रोल र ग्यासको समेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भुइँमा खस्दा आगो सल्किएको र आगलागी भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको केन्द्रमै भए पनि समयमा दमकल आएन । स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका कारण ठूलो क्षति हुनबाट जोगिएको हो । पछि दमकल र स्थानीयवासी तथा प्रहरीको सक्रियतामा साँझ करीब ६ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !