१९ असार २०८१, बुधबार

धारिलो हतियार आक्रमणबाट मृत्यु भएका पाकिस्तानी ‘तालिवान पिता’ को अन्त्येष्टि


crimes

१८ कात्तिक, पाकिस्तान । पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी उल–हकको हत्या छानविन गर्न निर्देशन दिएपछि मृतक अन्त्येष्टि गरिएको हो ।

तालिवान समूहका आस्थाका धरोहर मानिदै आएका ८० बर्षीय समी उल–हकलाई शुक्रबार राति एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

तालिवान धर्मगुरूलाई पाकिस्तानको राजधानी इश्लामावादबाट ११५ किलोमिटर टाढा रहेको उहाँकै गृहनगर आकोडा खट्टक मा इश्लामिक धार्मिक संस्कार अनुसार अन्त्येटि गरिएको थियो ।

तालिवान धर्मगुरू समी उल–हकको अन्त्येष्टि समारोहमा उहाँका हजारौँ अनुयायीहरूको सहभागिता रहेको थियो भने दर्जनौ प्रहरीले अन्त्येष्टि समारोहका क्रममा सुरक्षा प्रदान गरेका प्रत्यक्षदर्शीसमेत रहेका एएफपी संवाददाताले बताए ।

पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनझिर भूट्टोको हत्याबारे सन् २०१० मा सार्वजनिक अनुसन्धान रिपोर्टले भूट्टोको हत्यामा सम्लग्न समूह घटनास्थल रावलपिण्डी जानुपूर्व उहाँकै धार्मिक आश्रममा बसेर गएका भन्ने खुलासा गरेको थियो ।

यसैबीच अफगानी तालिवान समूहले समी उल–हकको मृत्यु सम्पूर्ण इश्लामिक राष्ट्र (उमाह)हरूका लागि अपुरणीय क्षति भएको भएको शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उहाँले अफगानिस्तानमा तत्कालिन सोभियत सङ्घ र अमेरिका अतिक्रमणका क्रममा अविस्मरणीय सहयोग गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

समी उल–हकको अफगानी तालिवानसँग कुनै सम्लग्नता नभएको भएपनि उनीहरूको आन्दोलनप्रति सहानुभूति रहेको थियो, पाकिस्तानी विश्लेषक रमीमुल्लाह यूसुफजाईले एएफपीसँग बताउनुभयो । तालिवानका कैयौँ नेता तथा लडाकूले धर्मगुरू समी उल–हकको मदरसा पाठशालामा अध्ययन गरेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमले धर्मगुरू समी उल–हकको निधन अफगानिस्तानको शान्ति प्रक्रियामा एउटा झड्का सावित बन्ने बताएका भएपनि विश्लेषक यूसुफजाईले अफगानी शान्ति प्रक्रियालाई उहाँको मृत्युले प्रभाव नपार्ने बताउनुभएको छ ।

अफगानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उहाँलाई एउटा समस्या सिर्जनाकर्ताका रूपमा उल्लेख गरेका छन् ।

समी उल–हकले पाकिस्तानी संसदमा दुई पटकसम्म प्रतिनिधित्व गर्नुभएको थियो । पाकिस्तानको सत्ताधारी दल तेहरिक–ए–इन्साफको धर्मगुरू समी उल–हकको दल (जेयूआइ–एस)सँग गठबन्धन रहेको छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !