८ बैशाख २०८१, शनिबार

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो : १७ घर पुरिए, २ जनाको शव फेला


बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए फाइल फोटो

बझाङ, २० असार । केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको र २ जनाको शव फेला परेको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो, “पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।” उहाँले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिनुभयो ।

स्थानीय लोकेन्द्र विकले भने अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र सात जना बेपत्ता भएको जानकारी दिनुभयो । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताउनुभयो । उहाँका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार-पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !