चैत १७, काठमाडौँ । कोरोना भाइरस (ओभिड-१९ ) रोकथामका लागि नेपाल सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्री लिएर प्रदेश १ को विराटनगर र सूदुरपश्चिम प्रदेशको धनगढी उडेका नेपाली सेनाको दुईवटा स्काई ट्रकहरु अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएका छन् । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो ।
विमान चालकले एक प्रकारको फरक किसिमको गन्ध आएपछि उडान भर्न नसक्ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुन: त्रिभुवन विमानस्थल नै फिर्ता भएका थिए । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरेका छन् । उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरू बीचबाटै फिर्ता भएकाहुन् ।