२ जेठ, काठमाडौं । नेपालमा आज विहान फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप नयाँ ९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मकवानपुर १ जना र बाँकेमा ८ जना कोरोना संक्रमित भेटिएका हुन् । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेको नरैनापुर गाउँपालिका-१, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।
यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २४९ थियो भने आज बिहान ९ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३५ पुगेको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या २४९ पुग्यो, आज राती थपिए कोरोनाका नयाँ ३ संक्रमित
नेपालमा संक्रमितको संख्या २४६ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित
नेपालमा संक्रमितको संख्या २४५ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ २ संक्रमित