८ बैशाख २०८१, शनिबार

के हो पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) ?


पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट)

पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (Personal Protective Equipment) लाई नेपालीमा व्यक्तिगत सुरक्षात्मक उपकरण भनिन्छ जसलाई छोटकरीमा पीपीई (PPE) भन्ने गरिन्छ । व्यक्तिको शरीरलाई चोट वा संक्रमणबाट बचाउनको लागि डिजाइन गरिएको सुरक्षात्मक उपकरणलाई नै पीपीई भनिन्छ । जसमा सुरक्षात्मक कपडा (गाउन), हेलमेट, चश्मा, पन्जा, मास्क, जुत्ता, बेल्ट, कान सुरक्षा गर्ने उपकरण, ढाडको सुरक्षा गर्ने पेटी आदि पर्दछन् ।

कुनै उपकरणहरु वा उत्पादनहरू हुन् जसमा कामदारहरूले उनीहरूको स्वास्थ्य र उच्च जोखिमयुक्त काममा सुरक्षा गर्न प्रयोग गर्दछन् । सामान्यतया भारी मेसिनरी भएका कम्पनीहरू र खतरनाक ठाउँहरू जस्तै उच्च उचाई वा समुद्रमा पीपीईको धेरै प्रयोग गर्ने गरिन्छ । पीपीईले व्यक्तिमा हुने भौतिक, विद्युतीय, ताप, रसायन, जैविक जोखिम, हावामा भएका कण आदिवाट स्वास्थ्यमा पर्ने सम्भावित खतरहरूवाट बचाउछ ।

अहिले विश्व कोरोना भाइरस (कोभिड-१९) को महामारीवाट भयभित छ । कोरोना संक्रमित तथा लक्षण देखिएका बिरामीलाई उपचार तथा जाँच पड्तालका क्रममा संदिग्ध भाइरस स्वास्थ्यकर्मीको शरीरमा प्रवेश गर्ने सम्भावना रहन्छ । पीपीईले कोरोना भाइरसका किटाणुलाई व्यक्तिको शरीरभित्र छिर्नबाट जोगाउने गर्छ ।

नाक, मुख, आँखा लगायतका अङ्गबाट शरीरमा किटाणुको संक्रमण प्रवेश गर्नबाट रोक्नका लागि स्वास्थ्यकर्मीलाई पीपीई अनिवार्य हुन्छ । पीपीई एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने बताइन्छ । व्यक्तिगत सुरक्षात्मक उपकरण लगाएर शौचालय जान मिल्दैन । त्यसैले कोरोना भाइरसका संक्रमित र लक्षण देखापरेका बिरामीको संख्या बढ्दै गएमा हाल उपलब्ध पीपीईले नपुग्ने अवस्था आउन सक्ने देखिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वास्थ्यकर्मीलाई दिएको उपचारको गाइडलाइनमा पीपीईलाई पहिलो र अनिवार्य शर्त भनिएको छ । पीपीईविना उपचार गर्नु घातक रहेको भन्दै डब्लुएचओले चिकित्सकहरुलाई सचेत रहन चेतावनी दिएको छ । डब्लुएचओले कोरोना भाइरस नियन्त्रणको पूर्वतयारी अन्तर्गत १५०० पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को व्यवस्था गर्न सरकारलाई भनेको पनि थियो । डब्लुएचओले शरीर ढाक्ने सुरक्षित लुगा, विशेष चस्मा, भाइरस फिल्टर गर्ने मास्क, पन्जा लगायतको सूची नै बनाएर सरकारलाई बुझाएको छ ।

डब्लुएचओले भनेअनुसार तत्काल पिपिई जुटाउन ७०० पिस किन्न मात्रै पनि २८ करोड बजेट लाग्ने देखिएको थियो । संक्रमितको उपचार गर्दा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र आइसोलेसन वार्डमा रहने सबैले अनिवार्य पीपीई लगाउनुपर्छ । टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनुपर्छ । पीपीईको प्रयोगबिना कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण सर्ने सक्ने सम्भावना हुन्छ ।

२७ फेब्रुअरीमा काेराेनाकाे प्रकोपले सबैभन्दा नराम्रो अवस्थाको परिवर्तन लिएपछि विश्व स्वास्थ्य संगठनले दिशानिर्देशहरू प्रकाशित गर्दै  पन्जा, मेडिकल मास्क, चश्मा वा अनुहार ढाक्ने कुरा र गाउन साथै विशिष्ट प्रक्रियाहरूका लागि माक्स (जस्तै, एन-९५ वा एफएफपी-२) र एप्रेन पीपीईमा राखिएकाे छ । एन-९५ वा एफएफपी-२ श्वासप्रश्वासकहरू कोरोना भाइरस बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मीहरूको लागि आवश्यक मास्कको प्रकार हो किनकि भाइरस थोपाबाट संक्रमित भएकोले संक्रमित व्यक्ति खेक्दा वा हाछ्यु गर्दा स्प्रे हुनसक्छ ।

कोरोना नयाँ र अरु रोगभन्दा भिन्न भएकाले सामान्य अवस्थामा लगाउने मास्क र गाउनले काम नगर्ने भएकोले डब्ल्यूएचओले छुट्टै मापदण्ड भएको पीपीई सिफारिस गरेको छ । यो पीपीई लगाउनलाई पनि स्ट्यान्डर्ड प्रोटोकल अनुसार पीपीई सहि तरिकाले लगाउने र सहि  तरिकाले खोल्ने नगरेमा प्रभावकारी नहुन सक्छ । कोभिड-१९ भाइरस हाम्रो शरीरमा म्युकस मेम्ब्रेनबाट भित्र छिर्ने हुँदा नाक, मुखका साथै आँखा पनि जोगाउनुपर्छ ।

पीपीईको अभाव नेपालमा मात्र नभएर कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै विकसित राष्ट्रहरुमा समेत यसको अभाव देखिएको छ । विश्व स्वास्थ्य संगठनले लेखेको छ – कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टको अभाव विश्वव्यापी समस्या बनेको छ । मानिसले आत्तिएर पनि यसको खरिद् गरिरहेका छन् । केहीले भने किनेर दुरुपयोग समेत गरेका छन् । तर, स्वास्थ्यकर्मीका लागि भने पीपीई नै सुरक्षाको एकमात्र उपाय हो । उनीहरुले आवश्यक पीपीई पाउँदा आफू मात्र होइन बिरामीहरुलाई समेत संक्रमणबाट जोगाउन सक्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !