१४ आश्विन २०८१, सोमबार

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको सब भेरियन्ट ‘बीए ५’


ओमिक्रोनको सब भेरियन्ट बीए ५

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनको सब भेरियन्ट ‘बीए ५’ देखिएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रानको उपप्रजाति ‘बीए फाइभ’ देखिएको हो ।

धुलिखेल अस्पतालमा अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको सो सब भेरियन्ट देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए ।

यद्यपि संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने अझसम्म खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ ।

भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड-१९ फेरि समुदायस्तरमा बढ्न सक्ने संक्रामक रोग विशेषज्ञहरु बताउछन् ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना संक्रमण दर विश्वका केही देशमा फेरि बढिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !